Daily Archives: December 11, 2017

दोस्रो पुस्ताको व्यवसायः अनलाइन औषधी पसल

४ असार, काठमाडौं । तपाईँ यदि काठमाडौंको कालिमाटी एरियामा बस्नुहुन्छ ने तपाईँले एक न एक चोटि एसएम फर्मामा औषधी किन्नुभएकै होला । चार दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यो औषधी पसल कालिमाटीको ‘ल्याण्डमार्क’ नै भइसकेको छ ।

सबी सिंह र उनका दाजु सञ्जीवले अहिले एसएम फर्मा चलाउँदै आएका छन् । तर, बिल्कुलै फरक तरिकाले । जनस्वास्थ्य विषयमा स्नातक गरेकी सबी र उनका सूचना-प्रविधि पढेका दाजुले आफ्नो पारिवारिक व्यापारको दशकौं पुरानो सञ्जालको प्रयोग गर्दै व्यवसायलाई नयाँ उँचाइमा पुर्‍याएका छन् ।

उनीहरू मिलेर सञ्चालन गरेको अनलाइन औषधी प्रा. लि. ले तपाईँको घरैमा तपाईँलाई चाहिने महत्वपूर्ण औषधी ‘डेलिभरी’ गरिदिन्छ ।

‘सञ्जीव र म हुर्किँदै गर्दा फुर्सद भएको बेलामा बुवाको पसलमा बस्ने गर्थ्यौं’, अनलान औषधीकी प्रमुख कार्यकारी अधिकृत सबी सम्झन्छिन् ।

उनीहरूको बाल्यकाल फरक-फरक किसिमका औषधीकै बीचमा बित्यो । त्यसमाथि बुवालाई समस्या देखाउन आएका बिरामीहरूको पीडा पनि उनीहरूले प्रत्यक्ष देखेका थिए ।

‘त्यो जमानामा एसएम फर्मा जस्ता औषधी पसलहरू खालि औषधी पसल मात्रै थिएनन् । मानिसहरू डाक्टरकहाँ जानुभन्दा मेडिकल हलमा गएर आफ्नो समस्या सुनाउन सजिलो मान्थे’, सबी भन्छिन् ।

त्यसैले सानै उमेरदेखि उनीहरू दुवै जनालाई औषधी व्यवसाय बुझ्न खासै महिनेत गर्नुपरेन । उनीहरूले समयसँगै सिके ।

बीआईटी पढ्दै गर्दा सञ्जीवले कलेजमा एउटा प्रोजेक्ट बुझाउनुपर्ने थियो, सूचना-प्रविधिमा आफ्नो दक्षता प्रदर्शन गर्न । उनले छानेको प्रोजेक्टले सबै जना आश्चर्यमा परे ।

‘मैले यस्तो सफ्टवेयर बनाएँ, जसको प्रयोगले औषधी पसलको स्टक व्यवस्थापन गर्न सकिन्छ’, उनले भने, ‘औषधी पसलमा थुप्रै औषधी हुन्छन्, कुन चाहिँको मिति सकियो र कुनको स्टक सकियो हेरिरहन निकै गाह्रो हुन्छ ।’

उनले बनाएको सफ्टवेयरले यो सबै समस्या केही हदसम्म समाधान गरिदिएको थियो ।

उनीहरूका बुवा सूर्यमान सिंहको केही वर्षअघि निधन हुँदा उनीहरूको औषधि पसल ‘अटो पाइलट’ मा गइसकेको थियो । औषधिका थोक बिक्रेताले सबै सामान आफैं ल्याइदिन्थे । पसल चलाउँन खासै मिहिनेत नलाग्ने भइसकेको थियो । कलेज सकेर सबी भने स्वास्थ्य सेवा विभागमा काम गर्न थालिसकेकी थिइन् ।

सञ्जीव भने एउटा आइटी कम्पनीमा संलग्न थिए । अनलाइन औषधी पसलको आइडिया भने उनीहरूलाई निकै पछि मात्रै आएको थियो ।

‘एकदिन अफिसका साथीहरूसँग कुरा गर्दै गर्दा मैले आफूले पहिले औषधी पसल व्यवस्थापन गर्ने सफ्टवेयर बनाएको कुरा गर्दै थिएँ’, उनी भन्छन्- ‘त्यत्तिकैमा एक जना साथीले सोधे, ‘अनलाइन औषधी पसल किन नखोल्ने त ?’

धेरै समय अनलाइन औषधी पसलको कुरा उनको दिमागमा चलिरह्यो । केही दिनपछि उनले यो विषयमा बहिनी सबीसँग कुरा गरे । सबीले तुरून्तै सकारात्मक प्रतिक्रिया दिइन् ।

‘हामीले काम सुरू गर्दा काठमाडौंमा अनलाइन व्यापार निकै फस्टाएको थियो । इलेक्ट्रोनिक्स र लुगा अनलाइन किन्न पाइन्छ, तर औषधी किन किन्न पाइन्न ?’, यो सोच जन्मिँदाको समय सम्झन्छिन् उनी ।

छिटै सबै तारतम्य मिल्दै गयो र कामले गति लियो । उनीहरूले आफ्नो बलिया पक्षहरूको बारेमा बल्ल जानकारी पाए । उनीहरूसँग नेपालभर फैलिएको औषधी व्यवसायको सञ्जालमा पहुँच थियो र त्यसको प्रयोग गरेर सबैजसो औषधी मगाउन सकिन्थ्यो, त्यो पनि निकै छोटो समयमा । सञ्जीवले नयाँ कम्पनीका लागि सफ्टवेयर बनाए ।

केही महिनाभित्रै दुवै जना मिलेर नयाँ कम्पनी दर्ता गरे, घर-घर औषधी ‘डेलिभरी’ गर्ने ।

‘हामीले अनुमतिका लागि निवेदन दिँदा अनलाइन औषधी व्यवसाय भन्ने क्याटेगोरी नै थिएन ’, सबी सम्झन्छिन्, ‘यसकारण अनलाइन औषधीले नियमहरूको पालना गर्न भए पनि एउटा छु्ट्टै पसल खोल्नुपर्ने भयो ।’

‘कानूनले अनलाइन औषधी बेच्न पाइँदैन भनेको छैन । त्यसैले यसलाई अवैध भन्न मिल्दैन’, सञ्जीव भन्छन् ।

कसरी काम गर्छ त अनलाइन औषधीले ?

यदि तपाईँलाई औषधी चाहियो भने तपाईँसँग दुई उपाय छन् । तपाईँ अनलाइन औषधीको वेबसाइटमा गएर रजिष्टर गरी आफ्नो औषधी मगाउन सक्नुहुन्छ । अथवा कम्पनीको फेसबुक पेज वा भाइबरमा पनि आफ्नो अर्डर टिपाउन सक्नुहुन्छ । ९८४१५६८५६८ मा फोन गरेर अर्डर गर्ने सुविधा पनि उपलब्ध छ ।

तर, चिकित्सकको प्रेस्क्रिप्सने भने तपाईँले देखाउनुपर्ने हुन्छ । कम्पनीका अनुसार, ४८ घण्टाभित्र औषधी डेलिभर गरिन्छ र ५ सय रुपैयाँभन्दा बढीको औषधी डेलिभरी शुल्कबिनै तपाईँको घरमै पुर्‍याइन्छ ।

अनलाइन औषधीको सेवा अप्ठ्यारो स्थितिमा रहेका मानिसले पनि प्रयोग गर्ने गरेका छन् । यसको एउटा उदाहरण त सबी र सञ्जीवले सधैं सम्झन्छन् ।

एकदिन उनीहरुलाई पाटन अस्पतालबाट औषधी मगाउँदै फोन आयो । जब डेलिभरी गर्ने मान्छे अप्पतालमा पुग्यो, उसले देख्यो- अस्पतालमा घाइते भएर सुतेको बिरामीले पो औषधि अर्डर गरेको रहेछ !

‘डाक्टरले उसलाई औषधीको सूची थमाएको रहेछ । ऊ भने हिँड्न नसकेर बेडमै रहेछ’, उनीहरू भन्छन् ।

औषधी बेच्नुका साथै अनलाइन औषधीले आफ्नो ग्राहकहरूको रेकर्ड पनि राख्ने गर्दछ । यो सेवा धेरैले रुचाएका पनि छन् । किनभने औषधी किन्ने काठमाडौंका अधिकांश मानिस आफ्ना लागि भन्दा पनि आफ्ना परिवारजनका लागि औषधी किन्छन् ।

‘एकदिन हामीले एकजना ग्राहकलाई तपाईँको औषधी सकिने बेला भयो भनेर फोन गरेका थियौं । तर, ऊ मान्नै तयार थिएन । उसकी आमाले खाने गरेको औषधी धेरै बाँकी रहेको देखेर उसले हामीले भनेको पत्याएको थिएन’, सञ्जीव भन्छन् ।

उनले थपे, ‘तर केही समयपछि उसले थाहा पाएछ, उसकी आमाले त औषधी खान बिर्सिँदो रै’छिन् !’

ती ग्राहकले पछि अनलाइन औषधीलाई धन्यवाद पनि दिएका थिए ।

अनलाइन औषधी बेच्न थालेको एक वर्ष बित्दै गर्दा सिंह दाजु-बहिनीले काठमाडौंमा भन्दा बढी त यो सेवा राजधानी बाहिर पो चाहिएको रहेछ भनेर बुझेका छन् ।

‘हामीले यस्ता धेरै मानिसहरू भेट्यौं, जो उपचारका लागि काठमाडौं आउँछन्, तर घर फर्केपछि औषधी मगाउन सक्दैनन्’, सबी भन्छिन्, ‘औषधीको लागि मात्र काठमाडौं आउन निकै महँगो पर्छ ।’ काठमाडौं बाहिर पनि छिटै सेवा सुरु गर्ने उनीहरूको लक्ष्य छ ।

आजकाल उनीहरूको कार्यालय बाफलमा छ । त्यहाँ ठूलो साइनबोर्ड छैन । तर, कालिमाटीमा औषधि भन्नासाथ एसएम फर्माको नाम आउने गरे जस्तै इन्टरनेट ओखती भन्दा अनलाइन औषधी भन्ने दिन चाँडै आओस् भन्ने उनीहरूको चाहना छ ।

Source : https://www.onlinekhabar.com/2017/06/599625

Share This:

Published by: